
नवलपुर, चैत २९ गते । थारू समुदायको चर्चित ‘भोदी’ खेल प्रतियोगिताको उपाधि महिला र पुरुष दुवैतर्फ आयोजक गण्डकी प्रदेशले जितेको छ । नवलपुरको कावासोती–१६ डण्डास्थित थारू सङ्ग्रहालयको मैदानमा शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको प्रतियोगितामा पहिलो पटक प्रदेशस्तरमा गण्डकी च्याम्पियन बनेको हो ।
पुरुषतर्फ ६६ वटा लट्ठी (थारू भाषामा ‘टाँचा’) निकालेर गण्डकी प्रथम भयो । १८ वटा लट्ठी निकाल्दै लुम्बिनी प्रदेश द्वितीय, १५ वटा निकाल्दै कोशी प्रदेश तृतीय र १० वटा लट्ठी निकाल्दै बागमती प्रदेशले सान्त्वना स्थान हासिल गरे । प्रथम हुने गण्डकीले नगद ५५ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । द्वितीय हुनेले ३५ हजार, तृतीयले २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले १५ हजार रुपैयाँ पाएको भोदी खेल सङ्घ गण्डकीका अध्यक्ष रामप्रसाद महतोले जानकारी दिनुभयो ।
महिलातर्फ प्रथम भएको गण्डकीले १० हजार र दोस्रो भएको बागमतीले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा पुरुषतर्फ जनकपुर र कर्णालीले टिम दर्ता गराए पनि सहभागिता जनाएनन् । महिलातर्फ भने दुई प्रदेशले मात्र भाग लिएका थिए । नवलपुरका विभिन्न क्लबका १४ पुरुष र ७ महिला टिमबिचको प्रतिस्पर्धाबाट छनोट गरी प्रदेश टोली बनाइएको खेल व्यवस्थापन समितिका संयोजक रिमबहादुर महतोले बताउनुभयो । गोरखापत्र

