दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक निर्देशन जारी गर्न नहुने धारणा व्यक्त गरेका छन् ।
संघीय सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै उनले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर निर्देशन जारी नगर्न आग्रह गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाको ३४ औं स्थापना दिवसको अवसरमा तुलसीपुरमा सोमबार भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधानअनुसार स्वायत्त भएको पनि स्पष्ट पारे ।
उनले संघीय सरकारले दिशा निर्देशन दिन सक्ने भए पनि ठाडो निर्देशन दिन नमिल्ने बताए ।‘संविधानले निर्दिष्ट गरेका हकअधिकार कार्यान्वयनका लागि संघीय सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्व स्वीकार गरेर अघि बढ्न हामी तयार छौं । तर, त्यसभन्दा बाहिर गएर निर्देशन दिने कार्य उपयुक्त हुँदैन,’ उनले भने ।
आचार्यले भदौपछि विभिन्न खालका निर्देशन आउने क्रम बढेको उल्लेख गर्दै त्यसप्रति संघीय सरकारको ध्यानाकर्षण गराए । उनले संघीय सरकारले सञ्चार क्षेत्रप्रति गरेको व्यवहारप्रति पनि प्रदेश सरकार गम्भीर रहेको बताउँदै त्यस्ता निर्णय अविलम्ब सच्याउन माग पनि गरे । उनले तीनै तहका सरकार योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

