उर्लाबारी, वैशाख ९, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सुस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा मङ्गलवार आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले राजनीति समाज निर्माणका लागि आवश्यक भए पनि यसको प्रयोग उचित स्थान र सन्दर्भमा हुनुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयजस्ता शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप हुनु नहुने बताउँदै उहाँले पदाधिकारीहरू समेत राजनीतिक दलदलबाट मुक्त हुनुपर्ने धारणा राख्नुभयो । मन्त्री पोखरेलले शिक्षा केवल डिग्रीमा सीमित नभई व्यावहारिक, पेसामुखी र सीपसँग जोडिएको हुनुपर्ने बताउनुभयो । ज्ञानको अभाव नरहेको उल्लेख गर्दै उहाँले प्राप्त ज्ञानलाई सीप र पेसासँग कसरी जोड्ने भन्ने विषय नै अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । संस्थागत सुशासन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले दीक्षित विद्यार्थीलाई आफ्नो ज्ञान र सीप देशको समृद्धिमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

वैज्ञानिक आविष्कारले विश्वलाई साँघुरो बनाइरहेको सन्दर्भमा त्यससँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नु अबको शैक्षिक आवश्यकता रहेको उहाँले बताउनुभयो । मन्त्री पोखरेलले विद्यार्थीहरूलाई रोजगारी खोज्ने मात्र नभई रोजगार सिर्जना गर्ने सोच विकास गर्न प्रेरित गर्दै भन्नुभयो, “देशको समृद्धिको यात्रामा तपाईँहरू पनि सँगसँगै लाग्नुपर्छ ।” विश्वविद्यालय डिग्री वितरण गर्ने संस्था मात्र नभई नीति निर्माण र अनुसन्धानको केन्द्र बन्नुपर्ने उहाँको भनाइ थियो ।