सरकारलाई कामु प्रधानन्यायाधीश सपना मल्लको जवाफ : लडाइँ अझैँ बाँकी छ

२६, शनिबार, वैशाख, काठमाडौं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको लडाइँ बाँकी नै रहेको बताएकी छन् । कानुन दिवसका अवसरमा शनिबार वैशाख २६० काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले डर र प्रभावमा स्वच्छ न्याय सम्भव नरहेको बताएकी हुन् ।

डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न उनले न्यायकर्मीलाई आग्रह पनि गरिन् । “डर र प्रभावमा स्वच्छ न्याय सम्भव छैन । डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई अनुरोध गर्दछु,” उनले भनिन्, “म आफैँले जीवनभर विभेद र अन्यायविरुद्ध लडेँ । हाम्रो लडाइँ आज पनि बाँकी नै छ ।”

संविधानको ‘स्प्रिट’ र सरकारको ‘स्पीड’मा अघि बढ्न सक्ने क्षमता न्यायपालिकामा रहेको उनले बताइन् । यसनिम्ति साधनस्रोतले सशक्त बनाउनुपर्नेमा उनले जोड दिइन् ।

विधिको शासनप्रति षड्यन्त्र गर्नेविरुद्ध उठ्ने आँट सबैले देखाउनुपर्ने उनले उल्लेख गरिन् । “विधिको शासनविरुद्ध षड्यन्त्र गर्नेविरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउनुपर्दछ,” उनले भनिन्, “यस्तो भएन भने संवैधानिक प्रणाली, प्रजातान्त्रिक व्यवस्था र न्यायपूर्ण समाजको हाम्रो परिकल्पना स्वतः सुरक्षित भइरहन्छ भन्ने कुरा मान्न सकिँदैन ।”