काठमाडौँ, जेठ १२ गते । प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) सहित विभिन्न राजनीतिक दलले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् ।
मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सामूहिक रूपमा विरोध जनाउँदै सदनको कार्यसूची अगाडि बढ्न नदिएका हुन् । बैठकको प्रारम्भमा आकस्मिक, शून्य र विशेष समयमा सांसदले समसामयिक विषयमा आफ्ना धारणा राखिसकेपछि सदनको नियमित कारबाही सुरु हुने क्रममा प्रतिपक्षी दलले अवरोध सिर्जना गरेका थिए ।
सांसदले उठाएका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र साहले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने अडान उनीहरूको छ । प्रधानमन्त्री उपस्थित नभएसम्म सदनको अवरोध कायम राख्ने निर्णय प्रतिपक्षी दलले गरेका छन् । प्रतिपक्षको अवरोधका कारण सदनको अन्य प्रक्रिया प्रभावित भएको छ ।
प्रतिपक्षी दलले लगातार बैठकमा अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराउनुभएको छ ।

