काठमाडौँ, जेठ १९ गते । अफ्रिकी मुलुक कङ्गो र युगान्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । अफ्रिकी मुलुकहरूमा इबोला सङ्क्रमण देखिएपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका कार्यलाई तीव्र बनाएको जनाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले इबोला सङ्क्रमणलाई विश्वव्यापी जनस्वास्थ्य चासोको विषयका रूपमा अघि सारेसँगै जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढाइएको बताउनुभयो ।
उहाँले इबोला परीक्षण क्षमता, स्वास्थ्यकर्मीको दक्षता, उपचार व्यवस्थापन तथा सङ्क्रमण नियन्त्रणका उपायहरूको समीक्षा गर्दै मातहतका अस्पताल, प्रयोगशाला र रोग नियन्त्रणसम्बन्धी निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो । साथै, मन्त्रालयले सङ्क्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेशविन्दुहरूमा स्वास्थ्यकर्मी परिचालन गरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार प्रवेशविन्दुहरूमा यात्रुहरूको स्वास्थ्य निगरानी, सङ्क्रमणसम्बन्धी अभिमुखीकरण, शङ्कास्पद बिरामीको परीक्षण तथा व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सरुवा रोग अस्पतालहरूसँग समन्वय गरिएको छ ।
सहायक प्रवक्ता अधिकारीले स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा रहेको राष्ट्रियस्तरको इमर्जेन्सी मेडिकल टिमलाई समेत सक्रिय बनाइएको जानकारी दिनुभयो । उहाँले डब्लुएचओको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली अनुसार विभिन्न देशसँग सूचना आदानप्रदान र सहकार्य भइरहेको बताउँदै तत्काल नेपालमा इबोला सङ्क्रमणको भय नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “इबोला भाइरस अफ्रिकी देश कङ्गो र युगान्डामा बढी देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी जनस्वास्थ्य आपतकालीन अवस्था घोषणा गरेको छ । सोही अनुसार स्वास्थ्य मन्त्रालयले परीक्षण क्षमता, उपचार तयारी र स्वास्थ्यकर्मीको दक्षतासम्बन्धी काम अघि बढाएको छ । सम्भावित प्रवेशविन्दुहरूमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेर परीक्षण तथा व्यवस्थापनका तयारी गरिएको छ । इमर्जेन्सी मेडिकल टिम सक्रिय बनाइएको छ । हाल तत्काल आत्तिनुपर्ने अवस्था छैन ।”
इबोला भाइरस कसरी सर्छ ?
इबोला भाइरस विभिन्न जङ्गली जनावरबाट पहिलो पटक मानिसमा सरेको मानिन्छ । सङ्क्रमित जङ्गली जनावरको रगत, शरीरका तरल पदार्थ वा मासुसँगको सम्पर्कबाट यो भाइरस मानिसमा सर्न सक्छ । विशेषगरी चिम्पान्जी, गोरिल्ला, बाँदर, सुँगुर, मृग, दुम्सी तथा चमेरोबाट यो भाइरस सर्ने जोखिम बढी हुन्छ ।
सङ्क्रमित व्यक्तिको रगत, शरीरका तरल पदार्थ, अङ्ग तथा वस्तुसँग प्रत्यक्ष सम्पर्क हुँदा यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । साथै यौन सम्पर्कका क्रममा वीर्य तथा योनिरसबाट पनि सङ्क्रमण फैलिन सक्छ ।
इबोलाका लक्षणहरू
उच्च ज्वरो
टाउको दुख्ने
जोर्नी तथा मांसपेशी दुख्ने
घाँटी तथा पेट दुख्ने
कमजोरी महसुस हुने
भोक नलाग्ने
सास फेर्न गाह्रो हुने
रोग बढ्दै जाँदा बान्ता हुने, पखाला लाग्ने, छालामा डाबर तथा रातो दाग देखिने, कलेजो र मृगौलाले काम गर्न छाड्ने जस्ता जटिल लक्षण देखिन्छन् । साथै नाक, आँखा, कान, गिजा, योनीबाट रगत बग्ने तथा खकारमा रगत देखिने समस्या हुन सक्छ । अत्यधिक रक्तस्रावका कारण ज्यान जाने जोखिम हुन्छ ।
उपचार, रोकथाम र नियन्त्रण
रगत परीक्षणबाट इबोला सङ्क्रमण पहिचान गर्न सकिन्छ । तर हालसम्म यसको प्रभावकारी औषधी वा आधिकारिक रूपमा प्रयोगमा आएको खोप उपलब्ध छैन ।
त्यसैले उपचार मुख्यतः स्याहारमा आधारित हुन्छ । बिरामीलाई पर्याप्त पानी, नुन–चिनी घोल (ओआरएस) दिने, सान्त्वना दिने तथा सहायक उपचार गर्नुपर्ने हुन्छ । साथै सङ्क्रमण रोकथामका लागि सावधानी, सरसफाइ र सम्पर्क नियन्त्रण अत्यावश्यक मानिन्छ ।

