Stock price declining

काठमाडौं :  चैतको चौथो सातामा पनि सेयर बजार उतारचढावमै रह‍्यो। यस सातामा ६ दिन सेयर कारोबार भयो। सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि सरकारी कार्यालय शुक्रबार पूरै दिन कार्यालय लाग्न थालेका छन्। त्यसैले शुक्रबार पनि सेयर कारोबार भएपछि यस साता एक दिन बढी कारोबार भएको हो। यस सातामा ३ दिन उच्च अंकले नेप्से बढ्यो भने ३ दिन घट्यो।

अधिल्लो साता कारोबारको अन्तिम दिन बिहीबार २७८२.१८ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन आइतबार १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झर्‍यो। भोलिपल्ट सोमबार भने नेप्से ८३.३३ बढ्यो भने मंगलबार २.६१ अंकले घट्यो। बुधबार नेप्से ४५.१२ अंकले र बिहीबार ४८.७१ अंकले बढ्यो। साताको सेयर कारोबारको अन्तिम दिन शुक्रबार दोहोरो अंकले घटेर बजार बन्द भयो। यस दिन १३.४५ अंकले घटेर नेप्से २८३७.७८ विन्दुमा झर्‍यो।

सातामा तिन दिन सेयर बढ्दा १७७.१६ अंकले बढ्यो भने तिन दिनमा  १२१.५६ अंकले घटे पनि  ५५.६० अंकले बढोत्तरी हुन पुग्यो। यो साता आइतबार उच्च विन्दु २९५८.७९ र बिहीबार न्यून विन्दु २७४०.२२ अंकसम्म घटेर सेयर कारोबार भएको थियो।  यस साता बिहीबार सबैभन्दा बढी ३ सय ४६ वटा र बिहीबार सबैभन्दा घटी ३ सय ३५ स्क्रिप्टको कारोबार भएर सेयर बजार बन्द भयो।

यो साता सबैभन्दा कम मंगलबार ६ अर्ब ७३ करोड ७१ लाख र सबैभन्दा बढी आइतबार १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भयो। सातामा ६ दिन कारोबार हुँदा पनि जम्मा ५७ अर्ब २७ करोड ७८ लाखको कारोबार हुँदा औसतमा दैनिक ९ अर्ब ५४ करोड ६३ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो। अघिल्लो साता औसतमा १२ अर्ब १ करोड ३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। यसले साता औसत सेयर कारोबार लगभग साढे २० प्रतिशतले
घटेको देखाउँछ।

नेप्सेको कुल बजार पुँजीकरण बिहीबार ४८ खर्ब ३९ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। गत साताको बजार पुँजीकरण ४७ खर्ब ३० अर्ब २ करोड रुपैयाँ थियो। साताभरमा नेप्से ५५.६० अंकले बढ्दा कुल बजार पुँजीकरण १ खर्ब ९ अर्ब ९५ करोड रुपैयाँले बढेको छ। यस साताभरीमा रिलायन्स स्पिनिङ मिल्सको सेयर ३ दिन, भुजुङ हाइड्रोपावरको ५, रिजलाइन हाइड्रोपावरको ६, होटल फरेस्ट इनको ६, सुपर खुदी हाइड्रोपावरको ६ र सूर्य कुण्ड हाइड्रोपावरको ५ दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यसैगरी, अपर लघुवित्त वित्तीय संस्था, रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सूर्यमुखी हाइड्रो इलेक्ट्रिक, श्रीनगर एग्रिटेक, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्ट कम्पनीको एक एक दिन सकरात्मक सर्किट लेभलमा कारोबार भयो। यस साता कारोबारमा आएका १३ उपसमूह सबै बढे। सेन्सेटिभ इन्डेक्स १.१५ प्रतिशत, फ्लोट इन्डेक्स १.१८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०८ प्रतिशतले बढ्यो।  एपोलो हाइड्रोपावरको आईपीओ आवेदन चैत ३० सम्म एपोलो हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि जारी आईपीको आवेदन चैत ३० गतेसम्म भर्न सकिने छ। गत चैत २६ गते बिहीबार कम्पनीको आईपीओ निष्कासन तथा बिक्री खुला भएको थियो।

  • यो साता ३ दिन उच्च अंकले नेप्से बढ्यो भने ३ दिन घट्यो।
  • औसतमा दैनिक ९ अर्ब ५४ करोड ६३ लाखबराबरको सेयर किनबेच भयो। अघिल्लो साता औसतमा १२ अर्ब १ करोड ३ लाखको सेयर खरिदबिक्री भएको थियो।
  • साताभरमा नेप्से ५५.६० अंकले बढ्दा कुल बजार पुँजीकरण १ खर्ब ९ अर्ब ९५ करोड रुपैयाँले बढेको छ।

कम्पनीले ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा चैत ३० गते हुनेछ भने ढिलोमा २०८३ वैशाख १० गते हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल हो।